राजनीति

सांसद भट्टराईद्वारा बाढी पहिरोको चपेटामा परेको ताप्लेजुङमा उद्धार र राहतको व्यवस्था गर्न माग



काठमाडौँ, ३२ जेठ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्ला बाढी पहिरोको चपेटामा परेको भन्दै उद्धार र राहतको व्यवस्था गर्न माग गरेका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका वडा नम्बर २ मा खेजेनिममा पहिरोले घर बगाउँदा सोही गाउँपालिकाका उपाध्यक्ष विकास साम्बा लिम्बुका बुवा रामबहादुर लिम्बु, आमा जसमाया लिम्बु र ९ वर्षीया जुम्ल्याहा दिदीबहिनी गंगा जमुनाको दुःखद निधन भएको जानकारी गराए ।

यस्तै सोही वडामा योगेन सावाँ लिम्बु र उनकी ४ वर्षकी छोरी पनि शक्त घाइते भएको र उनीहरूको घरमा क्षति भएको जानकारी गराए । ताप्लेजुङ जिल्ला केही वर्षदेखि प्राकृतिक विपत्तिको जोखिममा पर्दै आएको उल्लेख गर्दै सम्बन्धित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।