राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा संसद्मा जानकारी गराउन सभामुखलाई रुलिङ गर्न माग



काठमाडौँ, ३२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर स्वदेश फर्किएको ५ दिन बितिसक्दा पनि संसद्लाई जानकारी नगराएको भन्दै आपत्ति जनाएको छ । 

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बारेमा संसद् जानकारी गराउनका लागि सभामुखलाई रुलिङ गर्न माग गरे । 

उनले भने, ‘मित्रराष्ट्र भारत ठूलो लोकतन्त्र भएको मुलुक हो, लोकसभाको निर्वाचन भयो खुसीको कुरा हो । महामहिम मोदीजीलाई बधाई दिने सम्मान व्यक्त गर्ने, शुभकामना दिने कुरा ठिक हो, तर यो सबै कुरा गर्दा सम्माननीय प्रधानमन्त्रीज्यू हाम्रै सदन, यही गरिमामय संसद्लाई बिर्सनुभयो कि भन्ने कुराको आग्रह गर्दछु । हाम्रो एउटा परम्परा, संसदीय अभ्यास छ, देशको कार्यकारी प्रमुख, मन्त्री कुनै पनि मित्रराष्ट्रको भ्रमणमा जानुअघि कहिले जाने, कुन उद्देश्यले जाने र फर्केपछि जानकारी गराउने संसद्लाई जानकारी गराउनुपर्दछ ।’