राजनीति

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा



काठमाडौँ, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

पार्टीका नेता सुरेश आचार्यका अनुसार यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको हो ।

समान बिचारधारा भएका शक्तिहरूका बीचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।

महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग गरेको छ ।