राजनीति

प्रधानमन्त्री र विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकबीच भेटवार्ता



काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् ।

बालुवाटारमा सोमबार साँझ भएको भेटमा उनीहरूबिच नेपालको विकास र विश्व बैंकले नेपालमा पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । आफू नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति र बजेटमार्फत आर्थिक  सुधारको थालनी गरेको बताउँदै उनले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाए । 

नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत ६ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा  भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताए ।

सो अवसरमा विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए ।