समाचार

अफवाह नफैलाउन प्रहरीको आग्रह



काठमाडौँ, ४ असार । सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह फैलाएर त्रास फैलाउने काम नगर्न र भ्रममा नपर्न प्रहरीले आग्रह गरेको छ । 

गत वैशाख ३१ गते राति लहान नगरपालिका–१७ स्थित हरिपुरमा डाकाहरूको समूहले लुटपाट गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयमध्ये पाँचजना घाइते भएका थिए । उक्त घटनाका केही आरोपितलाई पक्राउ गरी कारबाही गरिए पनि त्यही घटनालाई देखाएर समाजमा त्रास फैलाउने काम गरिएको भन्दै प्रहरीले सचेत गराएको हो । 

विज्ञप्तिमा भनिएको छ, “केही समूह र व्यक्तिले विभिन्न स्थानमा डकैती हुँदै छ भनी अनर्गल प्रचार गर्ने, अफवाह फैलाउने, त्रसित बनाउने र जनमानसमा भ्रम फैलाउने काम गरिरहेका भन्ने बुझिन आएकाले यस्ता भ्रामक, तथ्यहीन तथा झुठो हल्लाका पछाडि नपर्न तथा शान्ति सुरक्षाप्रति विश्वस्त हुँदै आफ्ना नियमित काम गर्न सबैमा अनुरोध गर्दछौँ ।”