राजनीति

नेपाल-चीन संयुक्त विज्ञ समूहको बैठक बस्दै



काठमाडौँ, ५ असार । द्विदेशीय सीमा सम्बन्धमा नेपाल र चीनका संयुक्त विज्ञ समूहले छलफल गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई मुलुकका संयुक्त विज्ञ समूहबीच बेइजिङमा बुधबार र बिहीबार छलफल हुन लागेको हो । काठमाडौंमा असार ११ मा हुन लागेको नेपाल र चीनका परराष्ट्र सचिवस्तरीय बैठकअघि दुवै मुलुक संयुक्त विज्ञ समूहको बैठक गर्न सहमत भएका हुन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा रक्षा, गृह, भूमि व्यवस्थापन र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित टोली आइतबार बेइजिङ पुगेको छ । चीनका तर्फबाट त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गतको बोर्डर एन्ड ओसन अफियर्सका पदाधिकारीको सहभागिता रहनेछ । विज्ञ समूहलाई दुई मुलुकबीचको सीमाको निरीक्षण, विवाद समाधान र चौथो प्रोटोकल हस्ताक्षरका लागि तयारी गर्ने जिम्मेवारी छ ।

२०७६ को असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा भएको सीमासम्बन्धी सम्झौतामा पनि छलफल गर्ने परराष्ट्र स्रोतले बतायो । उक्त अवसरमा सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता भएको थियो । सम्झौतालाई सरकारले संसद्मा दर्ता गरे पनि हालसम्म अनुमोदन हुन सकेको छैन । १९६१ अक्टोबर ५ मा बेइजिङमा ‘नेपाल–चीन सीमा सन्धि’ भएको थियो । उक्त सन्धिको दफा ४ मा ‘सन्धिपत्र गर्ने दुवै पक्षले दुई देशबीचमा सिमानाको औपचारिक रेखांकनपश्चात् सीमा सम्बन्धमा उत्पन्न हुने कुनै पनि विवाद दुवै पक्षद्वारा मैत्रीपूर्ण छलफलबाट समाधान गरिने’ उल्लेख छ । सोही सन्धिमा टेकेर दुई मुलुकबीच उब्जिएका विषयका सम्बन्धमा कूटनीतिक वार्ता गर्नका लागि पहल भएको हो ।

परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले भने उक्त प्रतिवेदन परराष्ट्रमा पुग्नुअघि नै सीमासम्बन्धी उब्जेका समस्यालाई कूटनीतिक रूपमा समाधान गर्नुपर्ने अनौपचारिक वार्ता गरेका थिए । त्यसैलाई मध्यनजर गरेर अहिले संयुक्त विज्ञ समूहको बैठक बस्न लागेको हो ।