Banner News

सहकारीमा सुधार नआएसम्म बैंकको खराब कर्जा घट्दैन : गभर्नर अधिकारी



काठमाडौँ, ९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन् ।

आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफलमा उनले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण भएको र सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने धारणा राखेका हुन् । 

उनले भने, “सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ, अर्थतन्त्रमा सहकारीको भूमिका ठूलो छ, सहकारीहरू बैंक जस्तो भएर अगाडि बढ्दा समस्या देखिएको हो,” “हामीले सहकारीमा दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्ष अगाडिदेखि भन्दै आएका थियौँ । तर, कार्यान्वयन हुन नसक्दा समस्या आएको हो ।”

उनले समस्या समाधान नहुँदासम्म बैंकको खराब कर्जा पनि नघट्ने बताए ।