राजनीति

टीआरसी विधेयक सहमतिमै अघि बढाउने प्रयास



काठमाडौँ, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट बजेट पारित भएलगत्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) संशोधन विधेयकमा राजनीतिक सहमति जुटाउने प्रयास थालेका छन् ।

मुख्य राजनीतिक दलको सहमतिका आधारमा संसद्मा छिटोभन्दा छिटो विधेयकलाई लैजान बिहीबार बालुवाटारमा कांग्रेस र एमाले नेतृत्वसँग छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । यसअघि कांग्रेस र माओवादी गठबन्धन सरकारले अघि बढाउन खोजेको विधेयकमा पीडितलाई केन्द्रमा राखेर मात्रै सहमति जुटाउनुपर्ने भन्दै एमालेले प्रस्तावित विधेयकका प्रावधानमा केही ‘रिजर्भेसन’ राख्दै आएको थियो ।

शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने, पीडितलाई केन्द्रमा राखी तथ्यका आधारमा सत्य स्थापित गर्ने, सत्यका आधारमा न्याय, क्षतिपूर्ति, परिपूरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व–सिर्जित पीडाको सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन गठबन्धन सरकारमा रहेका दलहरूको सहमति छ ।