समाचार

आज असार १५ दही चिउरा खाने पर्व मनाइँदै



काठमाडौँ, १५ असार । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ । असार १५ दही चिउरा खने दिनको रुपमा किसानमाझमा लोकप्रिय प्रसिद्ध पर्व हो ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् । पछिल्लो समय दही, चिउरासँगै आँपको सिजन भएकाले आँपका साथमा मासुसमेत खाने प्रचलन बढ्दै गएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ।