Banner News

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली



काठमाडौँ, २२ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

ललितपुरको च्याँसलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उनले उल्लेख गरे । आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताए । उनले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएको प्रष्ट पारे ।

पार्टीका लागि मिसन–२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र सिथिल पार्न नहुने उनको भनाइ थियो ।  उनले विभाग प्रमुख तथा सचिवहरूलाई  मिसन–२०८४ लाई केन्द्रविन्दुमा राखेर पार्टीको काममा लाग्न निर्देशन दिए ।