समाचार

सेमिफाइनल संस्करणः क्यानडाको नजर गोलकिपर मार्टिनेज माथि



काठमाण्डौ,२५ असार । अर्जेन्टिनामा मेस्सी, डी मारिया, अल्भारेज, लौटारो मार्टिनेजजस्ता स्टार खेलाडी विपक्षी टिमका लागि सधैंका चुनौती हुन् । यद्यपि, कोपा अमेरिका २०२४ मा मेस्सीले अहिलेसम्म गोल गर्न सकेका छैनन् । तैपनि उनी टिममा हुँदा विपक्षी खेलाडी दबाबमा हुने गर्छन् ।

अर्जेन्टिनासँग स्टार स्ट्राइकरका साथमा स्टार गोलकिपर पनि छन् । प्रतियोगिताको सेमिफाइनलमा बुधबार अर्जेन्टिनाविरुद्ध मैदान उत्रिँदा क्यानडाको ठूलो चुनौतीमध्ये एक इमिलियानो मार्टिनेज पनि हुनेछन् । उनको किपरिङका कारण ठूल्ठूला टिमले पनि आफ्नो नाकमुनिबाट उपाधिहरू गुमाएका छन् । जस्तो कि, सन् २०२१ मा ब्राजिलले कोपा अमेरिका ट्रफी गुमायो, सन् २०२२ मा फ्रान्सले विश्वकप उपाधि गुमायो ।

विश्वकपमा २ पेनाल्टी रोक्दै उनले फ्रान्सलाई उपविजेतामै सीमित गरिदिएका थिए । जारी कोपा अमेरिकाको क्वार्टर फाइनलमा इक्वेडरसँग हार्न लागेको अवस्थामा मार्टिनेजले नै जोगाए । उनले दुई पेनाल्टी रोकिदिएसँगै अर्जेन्टिनाले सेमिफाइलनमा स्थान बनायो ।

विपक्षीले प्रहार गरेका ५० प्रतिशत पेनाल्टी सुटहाउट उनले विफल पारिसकेका छन् । अहिलेसम्म २४ पेनाल्टी सामना गरेका मार्टिनेजले ९ पेनाल्टी रोकेका छन् भने तीन गोल पोस्टभन्दा बाहिर गएका हुन् ।

विश्कप २०२२ मा सर्वोत्कृष्ट गोलकिपर बनेका उनले गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए । त्यसअघि सन् २०२१ को कोपा अमेरिकामा पनि उनले गोल्डेन ग्लोभ्स अवार्ड अर्काको हातमा पर्न दिएनन् ।

इंग्लिस क्लब आर्सनल र एस्टन भिल्लामा जादुमय खेल देखाएपछि सन् २०२१ मा उनलाई पहिलोपल्ट अर्जेन्टिनाको राष्ट्रिय टिमबाट खेल्न मौका दिइएको थियो । संयोग, उनी खेलेकै संस्करणको कोपा अमेरिका उपाधि अर्जेन्टिनाले जित्यो ।

२ सेप्टेम्बर १९९२ मा जन्मेका उनलाई डिबु नामले पनि चिनिन्छ । करिअरको सुरुमा जुनियर टिमका लागि खेलेका उनलाई १७ वर्षको उमेरमा आर्सनलले परीक्षणका लागि बोलाएको थियो । मार्टिनेजले सन् २०१० मा आर्सनल जानुअघि इन्डिपेन्डेन्टका युवाको र्‍यांकमा तालिम लिएका थिए । सेप्टेम्बर २०२० मा उनी २० मिलियन पाउण्डको करारमा प्रिमियर लिग क्लब एस्टन भिलामा सामेल भए । क्लबमा आफ्नो पहिलो सिजनमा मार्टिनेजले १५ क्लिन सिटको क्लब रेकर्ड बनाएका थिए ।

उनले जुनियर अन्तर्राष्ट्रिय म्याचमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै खेले । अण्डर १७ र अण्डर २० स्तरमा खेलेका उनले सन् २०२१ मा अर्जेनिटनाको राष्ट्रिय टिममा प्रवेश पाएका हुन् ।

विश्वकपमा उत्कृष्ट प्रदर्शनकै कारण उनी प्रख्यात बने । कोपा अमेरिका २०२४ को सेमिफाइनलमा कथम् प्रतिस्पर्धा पेनाल्टी सुटआउटमा पुगेमा क्यानडाका लागि उनी भारी पर्न सक्छन् । हुन त, यसअघि दुई खेल अर्जेन्टिनासँग खेलिसकेको क्यानडाले दुवै खेल हारेको थियो । जारी प्रतियोगिताको समूह चरणमा क्यानडाले अर्जेन्टिनासँग २–० को हार बेहोरेको थियो ।

मार्टिनेज कम्तान लियोनल मेस्सीले निकै सम्मान गर्छन् । इक्वेडरसँग पेनाल्टी सुटआउट मेस्सीले मिस गर्दा मार्टिनेजले सान्त्वना दिएका थिए । उनकै गोल रक्षाले अर्जेन्टिनाले जित्दा उनले मेस्सीका लागि पनि आफूले थप दबाब महसुस गरेको बताएका थिए ।