राजनीति

हामीले चिनेको रवि लामिछाने अब रहनुभएन : मुकुल ढकाल



काठमाडौँ, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री मुकुल ढकालले देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको बताएका छन् । 

आज पत्रकार सम्मेलन गर्दै उनले  रास्वपाका तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछाने पदीय जिम्मेवारी अनुरुप काम गर्न नसकेको बताए ।

उनले भने, “देशमा बाढीपहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन,”  “उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।” 

उनले आफूले चिनेको रवि लामिछाने एक्सन म्यान भएको भन्दै पहिलाको जस्तो नरहेको बताए । “हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन,” ढकालले भने ।

उनले रवि लामिछानेलाई केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवको शैली मन पर्न थालेको आरोप लगाएका छन् । 

उनले आफूलाई ‘बालपन’, बच्चापन’ भयो भन्दै आफ्नो शैली र छविमा आँच लगाउने काम रवि लामिछानेबाट भएको बताए । उनले भने, “अहिले धारा ३ अनुसार सरकार बन्छ कि भनेर रवि लामिछाने त्यो सरकारमा जान पाइन्छ कि भनेर टुसुक्क परेर बसिरहनु भएको छ । प्रचण्ड ओली र देउवाको शैली मन पर्नेलाई मुकुल ढकालको शैली कहाँ मन पर्छ ?”