Uncategorized

रविले भने–देश कसले चलाएको रहेछ भन्ने राम्रोसँग थाहा भयो



काठमाण्डौ, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्ने कुरा राम्रोसँग थाहा पाएको बताएका छन् ।

बिहीबार पार्टीको ‘नीति मन्थन’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारमा चार महिना बस्दा कुन शक्तिबाट देश चल्छ भन्ने कुरा राम्रोसँग बुझ्न पाएको बताएका हुन् । गोपनीयताको शपथ ग्रहण गरेकाले सबै कुरा भन्न नमिल्ने भन्दै उनले सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्ने कुराको जानकारी पाएको बताए ।

‘पद र गोपनीयताको शपथ खाएका छौँ, सबै कुरा सार्वजनिक गर्न त मिल्दैन । तर, देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौँ । यो ठूलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ । राज्यलाई अप्ठ्यारोमा पारेका छैनौँ । २१ जना भ्रष्टहरूलाई रोकेर हामी संसदमा आएका छौँ,’ उनले भने ।

सभापति लामिछानेले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्न आएको भन्दै सरकारमा गएर नै सरकारभित्रका गल्ती बुझ्ने बताए । उनले पुराना राजनीतिक दलसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताए ।