राजनीति

बागमतीमा कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो



हेटौंडा, ८ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ । सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो । आज बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् । लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

कुन मन्त्रालय कसलाई ?

एमालेले कृषि मन्त्रालय पाएको छ भने कांग्रेसले खेलकुद मन्त्रालय लिएको छ । १३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ ।

कांग्रेसलाई मुख्यमन्त्रीसहित ५ र एमालेले जम्कट्टेल नेतृत्वको सरकारमा लिएको ५ वटा मन्त्रालयको भागबण्डा पहिल्यै टुंगिएको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको सचेतक लम्सालले जानकारी दिए ।

लम्सालकै अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ । जम्कट्टेल नेतृत्वको सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले पर्यटन मन्त्रालय, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले कृषि, लक्ष्मण लम्सालले यातायात र रमा आलेमगरले युवा तथा खेलकुद मन्त्रालय चलाएका थिए ।