Banner News

सन्दीपविरुद्ध मुद्दा नचलाउनु भन्दै ‘गौशाला २६’ ले दिइन निवेदन



काठमाडौँ, ११ साउन । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ले निवेदन दर्ता गरेकी छन् ।

गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछाने विरुद्धको जबरजस्ती करणको मुद्दा अव सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन निवेदनमा माग गरेकी छन् ।

बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडी नबढोस् भन्ने चाहाना राखेर निवेदन दिएको दाबी गरेकी छन् । 

उनले हस्त लिखित रूपमा निवेदन उच्च सरकारी वकिल कार्यालय पेस गरेकी छन् । गौशाला २६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको कुरा उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे । उनले निवेदनबारे थप टिप्पणी भने नगर्ने बताए ।