काठमाडौँ, १२ साउन । लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएको भेटिएपछि ६ जना चालक पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले नागढुंगाबाट सार्वजनिक बस/माइक्रो तथा ट्रकका ६ जना चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार प्रतिबन्धित लागूऔषध सेवन गरी सवारी साधन चलाएको कसुरमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बागमती प्रदेश ०६–००१ ज ०१ ७२ नम्बरका माइक्रो बसका चालक चितवन भरतपुरका २५ वर्षीय अनिक चौधरी, प्रदेश २–०३ ००१ ख ४५ ६२ नम्बरका ट्रक चालक मकवानपुर हेटौडाका ३० वर्षीय प्रकाश तामाङ, बा १३ च ४८ ५३ नम्बरका पिकअप भ्यानका चालक मकवानपुर थाहा नगरपालिकाका २३ वर्षीय प्रकाश गोले, बा १७ च १७ १४ नम्बरका भ्यान चालक बाँके कोहलपुरका ४२ वर्षीय विनोद चौधरी, ग १ ख १५ ६७ नम्बरका बस चालक तनहुँ म्याग्दी गाउँपालिकाका ३९ वर्षीय कर्णबहादुर गुरुङ र ना ७ ख ०५ २७ नम्बरका भाडा ट्यांकर चालक मकवानपुरको हेटौडाका ४८ वर्षीय रविलाल मानन्धर पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्