समाचार

बागलुङमा एक वर्षमा १२ हजार मिटर पदमार्ग निर्माण   



काठमाडौँ, १४ साउन । बागलुङमा आर्थिक वर्ष २०८०/८१ मा १२ हजार दुई सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाको विभिन्न स्थानमा पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले पर्यटन पूर्वधार निमाणका लागि बागलुङमा रु छ करोड ४० लाख विनियोजन गरेको थियो ।

त्यसमध्ये तीन करोड ८५ लाखले पदमार्ग निर्माण गरिएको हो भने बाँकी बजेटले मठ मन्दिरसहितका पर्यटन संरचना निर्माण गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत जिल्लाको १० वटै पालिकामा पदमार्ग निर्माण र अन्य संरचना बनाइएको हो ।

गत वर्ष कुल ७६ योजनामध्ये ५२ वटा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । उनका अनुसार बागलुङ नगरपालिकामा २० योजना सम्पन्न भएका छन् । यसका लागि दुई करोड ३५ लाख विनियोजन भएको थापाले जानकारी दिए । जैमिनी नगरपालिकामा १३ योजनाका लागि ९५ लाख, काठेखोला गाउँपालिकामा १५ योजनाका लागि ९० लाख, गलकोट नगरपालिकामा नौ योजनाका लागि ७० लाख बजेट विनियोजन भएको प्रमुख थापाको बताउँछन् ।

प्रमुख थापाका अनुसार बडिगाड गाउँपालिकामा पाँच वटा योजनाका लागि ३० लाख, निसीखोला गाउँपालिकामा तीन वटा योजनाका लागि ३० लाख ढोरपाटन नगरपालिकामा चार योजनाका लागि २५ लाख, ताराखोलामा तीन वटा योजनाका ३० लाख, बरेङ गाउँपालिकामा तीन योजनाका लागि २५ लाख, तमानखोलामा एउटा योजनाका लागि १० लाख बजेट विनियोजन भएको र ति सबै योजना सम्पन्न भएको उनले बताए ।