राजनीति

मन्त्री सिंहद्वारा निर्माणाधीन संसद भवनको अनुगमन



काठमाडौँ, १५ साउन । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् ।

आज बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिए ।

२०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुन सकेको छैन । भ्याटबाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ ।

सुरुका वर्ष कोभिडका कारण काममा ढिलाइ भएको भनिए पनि कोभिड महामारी सकिसक्दा पनि कामले गति लिन सकेको छैन ।

अनुगमनपछि उपप्रधानमन्त्री सिंहले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न चाहेको भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिए । निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उनले बताए ।