राजनीति

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : मन्त्री भण्डारी



काठमाडौँ, १९ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवद्र्धनमा सरकार हरतरहले लागेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उनले  उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा  सहयोग पुग्ने बताए । 

उनले भने, “घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कषि उद्योग पनिहो, विभिन्न उत्पादनमूलक उत्पादन, जडीबुटी सङ्कलन पनि हो । यी क्षेत्रलाई अझ समृद्ध बनाउनुहोस् । त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ ।”

उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको उद्योगमन्त्रीको भनाइ थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरुकै लागि ‘स्टार्टअप’ कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उद्योग क्षेत्रको विकासका लागि लघु, घरेलु तथा साना उद्योगीहरुको भूमिकाको सराहना गर्दै उनले मन्त्रालयले उद्योगको विकासका लागि वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेकाले सोही अनुरुप साथ दिन महासङ्घलाई आग्रह गरे ।