भक्तपुर, १९ साउन । नेकपा (एमाले)को पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको एमाले मौलाएको दुवो जस्तै भएको बताउनुभएको छ ।
नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ७ कमिटी आज गुण्डूमा आयोजना तथा किवाचोक यवा क्लव, लिखानारायण मन्दिर संरक्षण तथा विकास समिति तथा गुण्डू पर्यटन प्रवद्र्धन तथा युवा परोपकार समाजको सहकार्यमा भएको विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ तथा बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै भक्तपुर एमालेको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले कसैले निर्वाचनमा हारेता पनि जनताको नजरमा र भक्तपुरको विकास र समृद्धिमा जहिले पनि अग्रभागमा रहेको बताउनुभयो । भक्तपुर एमालेको डोरी बलियो बन्ने उल्लेख गर्दै उहाँले एमालेको डोरी अबका दिनमा कसैले चुडाउन नसक्ने दावी गर्नुभयो ।
‘एमाले कार्यकर्ताको संरक्षण, सिंगो भक्तपुरवासीको पक्षमा सामाजिक न्यायको पक्षमा काम गर्ने, सहयोग गर्ने एमाले लाग्छ । अहिलेसम्म एमालेले कुनै पनि पार्टी नहेरि काम गर्यो । हामीसँग सहयोग माग्न आउनेलाई नाम सोध्यौं होला, घर सोध्यौं होला तर पार्टी सोधेनौं । त्यो नै हाम्रो कमजोरि भयो होला । तर अब त्यो कमजोरि हुन दिँदैनौं । हामीले काम गरिदिए बापत भोटचाँही एमालेलाई हाल भनेर भन्छौं । हामीसँग काम लिने अलि पर गएर हाम्रो नै विरोध गर्ने प्रवृत्तिको अन्त्य गछौं ।,’ उहाँले भन्नुभयो, ‘दुवो कहिले पनि नमर्ने झार हो । त्यो दुवोमा ढुंगा राखिदिनुस्, त्यो दुवो अर्कोतिरबाट पलाई हाल्छ । तपाई टिपेर फाल्नुस्, फेरी आइहाल्छ । तसर्थः नेकपा एमाले भक्तपुर मौलाएको दुवो हो । जोसुकैले थिचे पनि हामी आई हाल्छौं । महेश बस्नेतलाई हराए पनि किरण थापा क्षतिपूर्ति दिने गरी मन्त्री बनेर आइहाल्नुभयो त । त्यही भएर एमालेलाई भक्तपुरमा हराउने सपना नदेखे हुन्छ ।’
वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँग जनतामा आशा र भरोषा पलाएको उल्लेख गर्दै उहाँले जनताको आशाको दियोलाई वर्तमान सरकारले निम्न नदिने स्पष्ट पार्नुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँग उद्योगी, सेयरमार्केट, बैंक–वित्तीय संस्था तथा अन्य ब्यापार व्यवसायीहरु उत्साही रहेको उल्लेख गर्दै उहाँले देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास व्यक्त गर्नुभयो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारका कारण अर्थतन्त्र धरासायी अवस्थामा रहेको उल्लेख गर्दै उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विदुतको लाईन काटिदिएका कारण उद्योगीहरु पलायन हुनुपर्ने अवस्था बनेको स्मरण गराउनुभयो । उद्योगी पलायन हुने अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङको स्वार्थकेन्द्रीत निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुभएको उहाँले बताउनुभयो ।
‘किन भने एमालेप्रति उद्योगी तथा सेयर मार्केटका व्यवसायीहरुको विश्वास र भरोषा छ । उद्योगीले केपी ओली भन्दै जप्छन्, सेयर मार्केटकाले विष्णु–विष्णु भन्दै जप्छन् । प्रचण्डले उद्योगीहरुलाई भए नभएको आरोप लगाएर दुःख दिएका थिए । कुलमान घिसिङले विभिन्न तत्वहरुको स्वार्थमा उद्योगको लाईन काटेर उद्योगधन्दा बन्द गर्ने ठूलो षड्यन्त्र गरेका थिए ।,’ उहाँले भन्नुभयो, ‘तर केपी ओलीको नेतृत्वमा सरकार आएपछि उद्योगीले तिर्नुपर्ने पैसा तिर्नुे ग्यारेन्टी गरेर लाईन जोडिदिनुभएको छ । कुलमान जस्ता भ्रष्टाचारीहरुले आफ्नो बाउ, दाजुभाई, आफन्त नातागोताको नाममा हार्डवेयर पल खोल्ने अनि जहाँ जहाँ हाइड्रोपावरका कामहरु छन्, त्यहाँ त्यहाँ उनको मान्छेको पसलबाट लैजानुपर्ने । सारा ठेक्का सेटिङ्मा गर्ने तथा अनियमितता गरेका कारण अख्तियारमा मात्र ६ वटा मुद्धा परेको छ । कुलमानलाई महानायक भन्ने प्रचण्डका चेलाहरु ध्यान देउ, तिम्रा कुलमान कुन दिन भ्रष्टाचारको अभियोगमा जेल जान्छन् । सार्वजनिक लेखा समितिले छानविन गरिसकेको छ । कुलमान बेमान हो भन्ने सवैभन्दा पहिला सदनमा बोल्ने मान्छे हुँ म ।’
भक्तपुरमा कांग्रेस–माओवादीका कारण विकासमा अवरोध भएको गुनासो गर्दै नेता बस्नेतले राजनीतिमा प्रतिष्पर्धा, विकासमा ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस दुवा, चौका र छक्का जस्तो मात्र हो भने एमाले ट्रिपल एक्का जस्तो हो । जितेका कांग्रेसका नेता कहाँ छन्, जनताको घरमा छन्, प्राकृतिक प्रकोपबाट पीडित भएकाको घरमा छन्, विकास निर्माणमा छन् ? जितेका कांग्रेस कहाँ छन् भने भट्टी पसल मस्त छन् । कांग्रेसले बाँसको खुट्टा हालेर पाँच दल मिले निर्वाचनमा एमालेलाई जिते पनि जनताको नजरमा एमाले नै रोजाईको पार्टी हो । यति भनिरहँदा पनि कांग्रेसनै हाम्रो प्रतिष्पर्धी हो । त्यो पनि निहुरिएर तल हेर्नुपर्ने गरिको । तसर्थः जनताको मन जहिले पनि हामीले जितेका छौं ।’
कार्यक्रममा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, बागमती प्रदेशका स्वाथ्यमन्त्री किरण थापा, जिल्ला समन्वय समितिका प्रमुख इश्वरबहादुर थापा, वडाध्यक्ष रविन्द्र सापकोटा, गुण्डू युवा क्लवका अध्यक्ष दिनेश थापालगायतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा नवनियुक्त मन्त्री थापालाई सम्मान गरिएको छ । त्यस्तै विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ समेत गरिएको छ । जसले वडा नं. ७ मा भएका सम्पूर्ण विकास निर्माणहरुको संरक्षण गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्