भक्तपुर, २० साउन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आफुले मन्त्री हुँदा बखतको सम्पूर्ण पारिश्रमिक आफ्नो पार्टी नेकपा (एमाले)लाई सहयोग गर्नु घोषणा गर्नुभएको छ ।
आज नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री थापाले आफु कुनै पनि स्वार्थ नलिई विशुद्ध सामाजिक सेवाको लागि राजनीतिमा लागेको उल्लेख गर्दै आफु जनप्रतिनिधि भएबापत आउने जतिपनि पारिश्रमिक हुन्छ त्यो पार्टी र सामाजिक कार्यमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । आफुले सांसदबाट प्राप्त पारिश्रमिक सूर्यविनायक नगरपालिकाका १० वटै एमाले वडा कमिटीलाई सहयोग गरिरहनुभएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले बागमती प्रदेशसभामा निर्वाचित भएपछि सांसदबापत पाउने पारिश्रमिक रकम सूर्यविनायक नगरपालिकाका एमालेका सवै वडा कमिटीलाई दिने घोषणा गरेको थिए । सोही अनुसार मैले हालसम्म ९ वटा वडालाई प्रतिवडा ५० हजारका दरले सहयोग गरिसकेको छु । बाँकी एउटा वडाले केही समयअघि मात्र सम्पर्कमा आएकाले अब उक्त वडालाई पनि सहयोग गर्छु । मलाई राजनीतिमा कुनै स्वार्थ छैन । मेरो जीविको पार्जनको लागि आफ्नो व्यापार व्यवसायले धान्छ । विशुद्ध राजनीति सेवाको लागि मात्र गर्छु । तसर्थः मन्त्री वापत पाउने सम्पूर्ण पारिश्रमिक म मेरो पार्टी नेकपा (एमाले)लाई सहयोग गर्ने छु ।’
एमालेको मिसन ८४ अभियानलाई सफल बनाउन आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री थापाले एमालेलाई बलियो बनाउन गुट र उपगुट त्याग्नुपर्नेमा जोड दिनुभयो । व्यक्तिभन्दा पनि पार्टी बलियो बनाउन लाग्नुपर्नेमा जोड दिँदै उहाँले कतै कतै नेतृत्वमा त्यस्तो भए आजै त्याग्न आग्रह गर्नुभयो । ‘जब पार्टी बलियो हुन्छ तबमात्र हामी बलियो हुन्छौं’, उहाँले भन्नुभयो, ‘हामीले कसैलाई फलानोको मान्छे, ढिस्कानोको मान्छे भन्नु हुँदैन । हामी समग्र एमालेको मान्छे हौं ।’
एमाले पोलिटब्युरो सदस्य तथा भक्तपुर इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले भक्तपुरमा अध्यक्ष बचन देउजाले हिजो के भयो भन्दा पनि अब के गर्ने भन्ने कुरा मुख्य रहेको बताउनुभयो । हिजोको कुरालाई पाठको रुपमा लिई आगामी दिनमा एमालेलाई बलियो बनाउन लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष देउजाले एमालेका कार्यकर्ताले व्यक्ति नभई पार्टीलाई सर्वोपरी राखेर अगाडी बढ्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्