Banner News

टीआरसीबारे प्रचण्डले भने- नयाँ सरकार बनेपछि यो राम्रो काम भयो



काठमाडौँ, २३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयक चालू अधिवेशनबाटै टुंग्याउन जोड दिएका छन् ।

कार्यदलले प्रतिवेदन बुझाएपछि अब प्रक्रियाबाट संसदको समिति र सदनमा लगेर टुंग्याउनुपर्ने बताए । नयाँ सरकार बनेपछि राम्रो काम भएको भन्दै प्रचण्डले यो विषयलाई टुंग्याएर आम जनतालाई शान्ति स्थायित्व र प्रगतितिर जान अझै राम्रोसँग ढोका खोलेको सन्देश दिन सरकारलाई आग्रह गरे ।

उनले भने, ‘कार्यदलले सहमति जुटाएको छ । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्षमा पुग्न कठिन भएको थियो । पीडितमैत्री बनाउने हाम्रो कोसिस त थियो नै । शान्ति, स्थिरताको पक्षमा हुनेहरूलाई यो खुसी हो । नयाँ सरकार बनेपछि यो राम्रो काम हो भन्ने ठानेको छु, मैले प्रधानमन्त्रीको रूपमा बालुवाटारमा यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर कार्यदलको प्रस्ताव गरिएको थियो ।’