राजनीति

स्वास्थ्य मन्त्रालयद्वारा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह



काठमाडौँ, २४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको हो । 

स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ । प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए । मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेङ्गी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ । 

यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेङ्गी सङ्क्रमण र एकजनाको मृत्यु भएको छ ।