राजनीति

सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन : विश्वप्रकाश शर्मा



काठमाडौँ, २६ साउन । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने बताएका छन् ।

आज काठमाडौँमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे । 

महामन्त्री शर्माले भने, ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेका बीचमा भएका विमतिका विषयवस्तुहरुलाई हामीले तिलाञ्जली दियौं, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ ।’ 

उनले थप भने, ‘हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन । यो गठबन्धन बनाउँदै गर्दाखेरी विमतिको बीचमा सहमती गरेर गएका छौं । जति विमतिका विषयहरु छन् । त्यसलाई कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने बिल्कुलै होइन । त्यसकारणले गर्दाखेरी सरकारको गतिविधिमा, काममा, संयममा यो सरकारको भविष्य निश्चित छ ।’