काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न सरकारले काम गर्ने बताएका छन् ।
आज लायन्स क्लबले काठमाडौँ आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धतासमेत दोहोर्याएका छन् ।
देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु ? प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे ।
उनले आफूले जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपाल: सुखी नेपालीको गन्तव्य तय गरेको अघि बढेको तर्क पनि गरे । प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए ।
उनले भने, ‘गरिबी छ । बालबालिकाहरु खाना नपाएर भोकले तड्पिरहेका छन् । चिन्ताको विषय यो हो । आफ्नो छोराछोरीले भोकले रुँदाखेरि केही दिन नसक्ने र तड्पिनुपर्ने आमाबुबाको मन कस्तो हुँदो हो ? हो त्यही अवस्थालाई परिवर्तन गर्नु छ हामीले । त्यसका निम्ति सुशासन दिनु छ । विकासको गतिलाई तीव्र ढङ्गले अघि बढाउनु छ । र देशलाई समृद्ध बनाउनु छ । आधुनिक बनाउनु छ, विकसित बनाउनु छ । र जैविक र मानवीय आवश्यकको सहज पहुँचमा मानिसहरूलाई पुर्याउनु छ । ’
प्रतिक्रिया दिनुहोस्