समाचार

हैजा सङ्क्रमितको सङ्ख्या ४७ पुग्यो



काठमाडौँ, २६ साउन । देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको छ । 

ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।  

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।