राजनीति

१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण



काठमाडौँ, २७ साउन । संघीय सरकार मातहतका अस्पताल सुधार्न गरेको परिपत्र अनुसार १७ अस्पतालले निर्णय कार्यान्वयन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्नो मातहतका अस्पतालले सेवा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न विभिन्न उपाय अपनाउन थालेको मन्त्रालयले जानकारी दिएको हो । पहिलो चरणमा १७ वटा संघीय अस्पतालहरुबाट प्रगति विवरण प्राप्त भएको र बाँकी प्रतिष्ठान तथा अस्पतालबाट पनि विवरण आउने क्रम जारी रहेको जनाएको हो ।

अस्पतालहरुको विवरणमा भिड नियन्त्रण गर्न विस्तारित स्वास्थ्य सेवा, ओपीडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना/डिस्चार्ज बीचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका तय, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानी जस्ता कार्यलाई प्राथमिकता दिएको उल्लेख छ ।

मन्त्री प्रदीप पौडेलका अनुसार टेकु अस्पताल, थापाथली अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, नारायणी अस्पतालले प्रगति विवरण पठाएका छन् । त्यस्तै, मोनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, डडेलधुरा अस्पताल, वीर अस्पताल, आयुर्वेद चिकित्सालय र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि आफ्नो प्रगति विवरण पठाएका छन् ।