राजनीति

कांग्रेसमा महाधिवेशनको बहस



काठमाडौँ, २८ साउन । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टी महाधिवेशन गर्न सक्ने आशंका गर्दै नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायतले ०८२ मंसिरभित्रै नियमित महाधिवेशन गराउन दबाब बढाएका छन् ।

नेता कोइरालाले आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा कुनै पनि बहानामा नियमित महाधिवेशन नसार्न सभापति देउवालाई चेतावनी दिएका छन् । महामन्त्री थापाले गत फागुनमा भएको महासमिति बैठकमै ०८२ मंसिरमा पार्टीको पन्ध्रौं महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।

महासमिति बैठकमा महामन्त्री थापाले महाधिवेशनको मितिको प्रस्तावसहित ल्याएको प्रतिवेदन केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरिएको थियो । साढे पाँच महिनापछि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित महाधिवेशनको मिति संशोधन हुने संशय संस्थापन इतरपक्षमा देखिएको छ ।

नेता कोइरालाले क्रियाशील सदस्यतालगायत समस्या तत्काल समाधान गरी २०८२ मंसिरमा पन्ध्रौं महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गर्नुपर्नेमा जोड दिएका थिए । उनले पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाउनुपर्ने पनि उल्लेख गरे । ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ,’ कोइरालाले भनेका थिए । महाधिवेशनको मितिमा कोइरालाले संशय व्यक्त गरेपछि देउवाले बीचमै आपत्ति जनाएका थिए । ‘मैले त्यस्तो के बहाना बनाएको छु, महाधिवेशन समयमै गर्छु, अरू कुरा गर्नुहोस्, यो कुरा गर्न पर्दैन । मैले के बहानाबाजी गर्ने ?’ देउवाले भनेका थिए ।

कांग्रेस महामन्त्री थापाले अब हुने सय दिनको सांगठनिक अभियानले नियमित समयमा महाधिवेशन गराउने वातावरण सिर्जना गर्ने बताए । उनका अनुसार महाधिवेशनका लागि आधारभूत विषय नै क्रियाशील सदस्यताको नवीकरण हो । ‘अहिलेसम्म कुनै पनि ठूला नेताको सदस्यता नवीकरण भएको छैन । केन्द्रीय कार्यालयले चाहेर मात्रै सदस्यता नवीकरण हुँदैन । आफ्नो ठाउँमा सबैले सदस्यता नवीकरण गराउनुपर्छ । अब हुने सांगठनिक अभियानमा सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरिदिनुभयो, केन्द्रीय प्रतिनिधिहरूलाई सहयोग गर्नुभयो भने वातावरण बनाउन सकिन्छ,’ थापाले कान्तिपुरसँग भने, ‘सदस्यता नवीकरण जुन गतिमा हुनुपर्ने हो, भइरहेको छैन । समयमै महाधिवेशन गराउने कुरामा सभापतिले ढुक्क भए हुन्छ भन्नुभएकाले समस्या होला भन्ने लागेको छैन ।’

संस्थापन पक्षका नेताहरूले भने सभापति देउवाले नियमित महाधिवेशन भनेकै पाँच वर्षको अवधि हो भन्ने व्याख्या गर्दै आएका छन् । पार्टीको विधानमा सभापतिसहित सबै पदाधिकारी र सदस्यको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । विशेष परिस्थितिमा थप एक वर्ष बढाउन पाइने व्यवस्था पनि छ । अर्कातर्फ राजनीतिक दलको महाधिवेशन पाँच वर्षभित्र हुन नसके थप ६ महिना बढाउन सकिने प्रबन्ध संविधानमा छ ।

कांग्रेसमा अहिलेसम्म कुनै पनि सभापतिले चार वर्षमा महाधिवेशन गराएका छैनन् । महामन्त्री थापाले ०८२ मंसिरमा महाधिवेशन गराउन राखेको प्रस्तावमा संस्थापन पक्षले पार्टी विधान र संविधानको व्यवस्थालाई समेत मध्यनजर गर्दै समयभित्रै महाधिवेशनको तालिका तय गर्ने भन्ने वाक्यांश राख्ने गृहकार्य गरिरहेको एक सदस्यले जानकारी दिए ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रतिस्पर्धी नेताले चार वर्षभित्रै गराउन खोज्ने र नेतृत्वमा भएको व्यक्तिले पाँच वर्षभित्रै महाधिवेशन गर्न खोज्ने विषयलाई धेरै अस्वाभाविक रूपमा लिन नहुने बताए । ‘महाधिवेशन कहिले गर्ने, थपिने–नथपिने कुरा सहमतिबाट हुने हो । महामन्त्रीले राखेको प्रस्तावमाथि प्राप्त सुझाव र केन्द्रीय सदस्यहरूको धारणाअनुसार प्रतिवेदन परिमार्जनको अन्तिम गृहकार्य भइरहेको छ,’ उनले भने ।

एमालेसँगको सहमतिअनुसार प्रधानमन्त्री बनेपछि महाधिवेशन गराउँदा आफूले प्रस्ताव गरेको व्यक्तिलाई पार्टी नेतृत्वमा ल्याउन सहज हुने र त्यसपछि हुने संसदीय चुनावमा प्रधानमन्त्रीको हैसियतले टिकट वितरण गर्न सकिने बुझाइ सभापति देउवामा रहेको कोइराला पक्षको आरोप छ । कान्तिपुर