राजनीति

नेतृत्व छाड्न दाहाललाई दबाब



काठमाडौँ, २८ साउन । माओवादीको अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ । मूल नेतृत्वले पार्टी विधि र प्रणाली मिच्दा समस्या आएको भन्दै पदाधिकारी र स्थायी समिति सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति चर्को प्रश्न उठाएका छन् ।

तीन दिनदेखि काठमाडौंमा जारी माओवादी स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले पार्टी बिग्रिएको निष्कर्षसहित नेतृत्वको स्वेच्छाचारीबाट नभई सामूहिक विधि र प्रणालीबाट पार्टी चलाउनुपर्नेमा जोड दिएका छन् । उपमहासचिव जनार्दन शर्माले पछिल्ला राजनीतिक उथलपुथलमा दाहाल जिम्मेवार रहेकोतर्फ संकेत गर्दै पार्टी नेतृत्व हस्तान्तरणका लागि लिखित रूपमा तीन विकल्प दिएका छन् ।

माओवादी सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिबारेमा समीक्षा गर्न र पार्टी निर्माणका लागि कार्यक्रम तय गर्न पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा आइतबार बोल्ने अधिकांश नेताले अध्यक्ष दाहालको आलोचना गर्दै पार्टी सञ्चालनको सही विधि प्रणाली बनाउन जोड दिएका हुन् । बैठकमा बोल्ने दुई दर्जन नेताहरूले ‘पार्टी निर्माणमा भन्दा सत्तालाई प्राथमिकता दिँदा माओवादी बिग्रिएको’ निष्कर्षसहित भनेका छन्, ‘पार्टी प्रतिपक्षमा पुगेकाले अबचाहिँ सामूहिक विधि र प्रणालीमा चल्ने गरी पार्टी निर्माण गर्ने अवसर छ । २०८४ को निर्वाचनसम्म विगतका गल्ती सच्याउँदै जनतासमक्ष जानुपर्छ ।’

उपमहासचिव शर्माले कांग्रेस, एमाले गठबन्धन हुने गरी भएको उथलपुथलमा दाहाल नै जिम्मेवार भएको संकेत गर्दै यसबारे स्पष्ट हुनुपर्ने उल्लेख गरेका छन् । ‘गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउने क्रियाकलापले गर्दा पार्टीलाई भएको वैचारिक र व्यावहारिक लाभ–हानिको मूल्यांकन गर्ने । अहिलेको उथलपुथलले संघ र सबै प्रदेशका सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो ? यसको जिम्मेवार को हो भन्ने विषय पार्टीमा स्पष्ट गर्ने’ उनको लिखित मागमा उल्लेख छ । उनको लिखित मतमा भनिएको छ, ‘शंकाले लंका जलाउने, चियाको कपमा तुफान सिर्जना गर्ने भनेझैं पार्टीलाई नै क्षति हुने गरी सार्वजनिक रूपमा भ्रम सिर्जना गर्ने, मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ? यसबारे गम्भीर समीक्षा हुनुपर्दछ ।’ शर्माले नेतृत्व हस्तान्तरणको माग गर्दै लिखित रूपमा तीन विकल्प पनि अघि सारेका छन् ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी प्रणालीको विकास गरेर जानेमा नेताहरूले जोड दिएको बताए । ‘पार्टीमा विधि प्रक्रियालाई विकसित गर्नुपर्छ । प्रणाली विकास गरे मात्र संगठन सुदृढ हुन सक्छ भन्ने साझा धारणा छ,’ उनले भने, ‘अब जनतामा स्पष्ट कार्यक्रम बनाएर जानुपर्छ ।’ उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव शक्ति बस्नेत लगायतले विधि र पद्धतिबाट सामूहिक निर्णय गरे मात्र माओवादी संगठन बलियो हुने धारणा राखेका थिए ।

उपमहासचिव वर्षमान पुनले अध्यक्ष दाहालले साढे तीन दशकभन्दा बढी पार्टीको नेतृत्व गरिसकेकोले अगामी दिनमा नेतृत्वको कार्यकाल पनि तोक्नुपर्ने धारणा राखे । भने, ‘अबचाहिँ नेतृत्वको कार्यकाल तोकेर जानुपर्छ अनि मात्र नेतृत्वको विकास हुन्छ ।’ नेतृ जयपुरी घर्तीले पार्टीको कार्यविभाजन, मन्त्री चयनलगायतमा कुनै विधि नभएको भन्दै आक्रोश पोख्दै भनिन्, ‘पार्टीमा विधि र पद्धति भनेको यही हो ? के यसरी पार्टी चल्न सक्छ ?’ राष्ट्रिय सभाकी पूर्वउपाध्यक्ष उर्मिला अर्यालले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा गर्दै हेप्ने काम भएको टिप्पणी गरिन् ।

कमला रोकाले नेतृत्व संस्थागत निर्णय गर्नबाट चुकेको टिप्पणी गरिन् । भनिन्, ‘पार्टीमा आत्मकेन्द्रित व्यक्तिवाद हाबी छ, मुख्य नेतृत्व मनोगत भयो । गुटलाई संरक्षण गर्ने काम भएको छ ।’

सुन तस्करी प्रकरणमा आफ्नो परिवारलाई मुछ्दा प्रधानमन्त्री रहेका अध्यक्ष दाहालले बेवास्ता गरेको भन्दै पूर्वउपसभामुखसमेत रहेकी ओनसरी घर्तीले गुनासो गरेकी थिइन् । ‘हाम्रो परिवारमाथि सुन तस्करी आरोप लागेका बेला प्रधानमन्त्री र गृहमन्त्रीले मेरो फोन उठाउनु भएन । सुन तस्करजस्तो बनाइयो,’ घर्तीले भनिन् । कालीबहादुर मल्ल, शशि श्रेष्ठले ‘यो अन्तरसंघर्ष गर्ने बेला नभई बृहत् पार्टी एकतामा जोड दिनुपर्ने बेला भएको’ धारणा राखेका थिए । कान्तिपुर