काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसीको विषयमा नेपालले दृष्टान्तयोग्य सफलता प्राप्त गर्न लागेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन लागिएको बताए ।
उनले भने, ‘हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश हामी दिन सफल हुनेछौँ’, ‘यसकारण मैले आफ्नो खुसी व्यक्त गर्न खोजेको हुँ ।’
उनले २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई यतिचाँडो टीआरसीको विषयमा टुंगोमा पुग्लाजस्तो नलागेको बताएको स्मरण गरे । तर त्यतिबेला पनि आफूले महासभामा ‘आफ्नो ठाउँमा आफ्नै उपजको रुपमा शान्ति प्रक्रियालाई अघि बढाएको र टुंगोमा पुर्याउँछौँ’ भनेको स्मरण गरे ।
उनले दलहरुबीच सहमति भएर संसदमा विधेयक पेस भएकाले अब छलफलपछि सहजै पारित हुने विश्वास व्यक्त गरे । ‘विधेयक यहाँ छलफल भएपछि पारित हुन्छ । हामी यस सन्दर्भमा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौँ’, उनले भने।
प्रतिक्रिया दिनुहोस्