काठमाडौँ, ३० साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेकी छन् ।
आज सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकाेमा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञापन गरे । नयाँ आउने राजदूतले आगामी दिनमा समेत नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध थप विस्तार गर्ने उनले विश्वास व्यक्त गरे ।
दुई मुलुकबीच मित्रता, सहयोग, पारस्परिक विश्वास र सम्मानमा आधारित सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “अष्ट्रेलिया नेपालको मित्रराष्ट्र हुनाका साथै विकास प्रक्रियाको महत्वपूर्ण साझेदार रहँदै आएको छ, नेपालले स्वास्थ्य, जनजीवन, शासकीय प्रबन्ध, जनशक्ति विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट सहयोग प्राप्त गर्दै आएको छ ।”
अष्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अष्ट्रेलियामा उपलब्ध सहयोगका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले अष्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटकको सङ्ख्या थप वृद्धि हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्