राजनीति

साइबर ब्यूरोलाई सुनिता डंगोलको पत्र



काठमाडौँ, ३० साउन । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका अनधिकृत फेसबुक पेज बन्द गराई प्रयोगकर्तालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेखेकी छन् ।

यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामग्री प्रकाशन भइरहेको भन्दै डंगोलको सचिवालयले ब्यूरोलाई पुन: पत्र लेखेको हो । उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजबाट महिलाको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउने काम गरिरहेको भन्दै ती पेजहरुको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन् ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरुमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरुलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु’, डंगोलका सचिवालय प्रमुख सौरभ गौतमले साइबर ब्यूरोमा पठाएको पत्रमा भनिएको छ ।