Banner News

समाजलाई सकारात्मक दिशामा रूपान्तरण गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह



काठमाडौँ, ३२ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

आज काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गरे ।

नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने बताए । उनले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गरे । उनले अधिकारका लागि लडेर ल्याएका अधिकारहरूको संरक्षणमा जुट्न पनि आह्वान गरे । उनले विरोधको नाममा विरोध गर्दा प्राप्त अधिकार पनि गुम्नसक्ने खतरा हुने बताए । 

उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गरे । उनले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी गरे ।