राजनीति

सरकारले संविधान संशोधन गरेर जनताको अधिकार कमजोर बनाउँदैन : उपप्रधानमन्त्री सिंह



काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

नेवाः सम्पर्क समूह, रामेछापले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कांग्रेस–एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले सरकारले संविधान संशोधन गरेर जनताको अधिकार कमजोर नबनाउने बताएका हुन् ।

उनले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई कांग्रेस–एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गरे । जनतालाई अधिकार दिलाउनका लागि लडेको कांग्रेस–एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो । उनले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि बताए ।