Banner News

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो



काठमाडौँ, ४ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भारत भ्रमणमा रहेकी मन्त्री राणाले भेटमा नेपाल–भारतबीच विविध विषयमा सहकार्यमा जोड दिनुका साथै मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन् । मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको उल्लेख गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्तरण गरेको पनि उनले बताएकी छन् ।

भेटपछि मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको पनि उल्लेख गरेका छन् । दुई मुलुकको विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर रहेको पनि उनको भनाइ छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा मोदी र राणाबीचको भेटवार्तामा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको जनाएको छ । राणा र मोदीबीच सोमबार साँझ करिब ३० मिनेट कुराकानी भएको हो ।