काठमाडौँ, ४ भदौ । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ ।
गएरातिदेखिको अविरल वर्षाले बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरोले आज बिहान ७ः३० बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । यस खण्डमा अहिले लगातार वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र र पाल्पा, स्याङ्जातर्फ यातायातका साधन चल्न सकेका छैनन् ।
वर्षाले जिल्लाको विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् । समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । खहरे खोलामा पानीको बहाव बढ्दा मध्यविन्दु नगरपालिका–९, वसन्तपुरमा मोटरसाइकल बगाएको छ । हुप्सेकोट गाउँपालिका–३, गिरुबारीका देवबहादुर फाल मगर र उनकी छोरी तुलसी फाल मगर तरकारी बेच्न जाँदा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएको थियो । बाबु र छोरीको सकुशल उद्धार गरिएको तर मोटरसाइकल खोलाले बगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, लमजुङमा लेदोसहितको पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१, दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्