राजनीति

मलाई सुझाव र आइडिया दिनुस् : उपप्रधानमन्त्री सिंह



काठमाडौँ, ४ भदौ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न आह्वान गरेका छन् ।

आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले केही नयाँ गर्ने भनेरै सरकारमा गएको भन्दै उनले रचनात्मक आइडियासहितको सुझावको अपेक्षा गरेको बताए ।

जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’ उनले सुझावका लापग घरमै वा सम्पर्क कार्यालयमै आउनसमेत आग्रह गरे ।

संविधानमा उल्लिखित अधिकारहरु जनताले महसुस हुने गरी कार्यान्वयनमा लैजानुपर्ने जरुरी रहेको भन्दै उनले त्यसका लागि सरकार क्रियाशील रहेको बताए । उनले भने, ‘अधिकार खाली संविधानमा भएर भएन, त्यसलाई कार्यान्वयन गराउनुपर्छ । त्यो स्टेजमा अहिले हामी छौं ।’