राजनीति

राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौती : महासचिव पोखरेल



काठमाडौँ, ४ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको बताएका छन् । 

आज कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौतीका रूपमा रहेको बताएका हुन् । 

साथै उनले नेपाली समाजमा नेपाली नागरिक र राज्य जोडिन नसकेको पनि बताए । ‘जबसम्म नागरिक र राज्य जोडिँदैन । तबसम्म लोकतन्त्र सफल हुन सक्दैन’, पोखरेलको भनाइ छ । उनले कुनै पनि देश सफल हुन राज्य र नागरिकबिचको सम्बन्ध पनि राम्रो हुन जरुरी रहेको बताए । 

‘नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन’, उनले भने, ‘जसले चर्को स्वर गर्छ उसका पछि जनताहरू झुम्मिने अवस्था छ यसले समाजलाई सही दिशा दिँदैन ।’ उनले समावेशिताप्रति सबैको गहिरो लगाव रहेको भन्दै तत्कालीन माओवादी र राजासँग मिल्ने भन्ने बहस चलेका बेला आफूहरू दलहरूसँग मिल्नुपर्छ भन्ने डा। बाबुराम भट्टराईको पक्षमा उभिएको स्मरण गरे ।