राजनीति

रास्वपा केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने भएको छ ।  केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय भएको पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा ठिक हुने प्रस्ताव सरकारसमक्ष गरेको छ । आयोगका अनुसार ३५ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ । 

कार्यवाहक महामन्त्री बुर्लाकोटीले भने‚ ‘मूलतः रणनीति तय गर्ने विषय नै हो । पार्टीले चुनावमा कसरी भाग लिने वा नलिने‚ उम्मेदवार के गर्ने भन्ने विषयमा छलफल हुन्छ । अघिल्लो बैठकमा नै छलफल गर्नुपर्ने थियो । तर‚ समय अभावका कारण सम्भव भएन । आजको बैठकमा समग्र विषयमा छलफल हुन्छ ।’