काठमाडौँ, ५ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विकको मृत्यु भएको हो ।
सरसफाइ गर्न कुवा भित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर बेस क्याम्पबाट अक्सिजन सहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो । बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको हो । घटना आज बिहान ८ बजेको भएपनि प्रहरीलाई खबर ९ बजे गरिएको थियो ।
दुबैजना बिना डोरी १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुने वित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्