राजनीति

भौतिक कारबाहीभन्दा नगद जरिवानाको व्यवस्था गर्न स्वर्णिम वाग्लेको सुझाव



काठमाडौँ, ९ भदौ । बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधन गर्दा नगद कारबाहीलाई प्राथमिकता दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सुझाव दिएका छन् ।

आज संसदीय समिति अन्तरगतको अर्थ समितिमा बैङ्किङ कसुर तथा  सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० को दफावार छलफलमा बोल्दै वाग्लेले भौतिक कारबाही भन्दा नगद कारबाहीमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका हुन् ।

उनले भने, ‘हाम्रोमा कसैले गल्ती गर्‍यो कि ठोकिहालौँ जेलमा कोचिहालौँ भन्ने मनस्थितिले काम गरेको देखिन्छ । तर, भौतिक कारबाही भन्दा नगद कारबाही ज्यादा प्रभावकारी हुन्छ’ ‘सहनै नसक्ने, अर्को पटक गल्ती नै गर्न आट नगर्ने गरी ठुलो परिणाममा नगद फाइनको व्यवस्था गरौँ न ‘ ।

अन्तर्राष्ट्रिय बजारमा समेत आर्थिक कसुरमा भौतिक कारबाही भन्दा नगद कारबाही नै गराउने हुँदा नेपालले पनि यही प्रणालीको विकास गर्नुपर्ने उनले बताए ।

समितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खातामा पैसा नभई नभई पनि चेक काटेर हैरान दिने प्रवृत्तिको अन्त्यका लागि बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधन गर्नुपरेको बताएका छन् । सङ्घीय संसदमा पेस भएको बैङ्किङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० को सन्दर्भमा आइतबार अर्थ समितिमा बोल्दै अर्थमन्त्री पौडेलले २०६४ को ऐनले सबै पक्ष र घटनालाई सम्बोधन गर्न नसकेकाले यसलाई संशोधन गर्न लागिएको बताए ।