मकवानपुर, १० भदौ । हेटौंडास्थित एक होटलमा महिला मृत फेला परेकी छन् ।
सोमबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित रत्ना होटलको कोठा नम्बर २०५ मा महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । मृतक हेटौंडा उपमहानगर वडा नम्बर ११ थानाभर्याङ बस्ने एलिसा न्यौपाने रहेको उनले बताए ।
कार्यालयका अनुसार आइतबार अपराह्न ५ बजेतिर एक पुरूष र न्यौपाने उक्त होटलमा पुगेका थिए । ती पुरूष बेलुकी ९ बजेतिर कोठाबाट निस्किएका थिए । सोमबार बिहान ११ बजेसम्म पनि कोठा नखुलेपछि होटलका सञ्चालक नवीन राना मगरले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे खबर पाएपछि प्रहरीको टोलीले झ्याल खोलेर हेरेपछि न्यौपाने मृत अवस्थामा फेला परेकी हुन् ।
डिएसपी भण्डारीका अनुसार सिरकले मुख छोपेको अवस्थामा शव फेला परेको हो । कोठाको भुइँमा रगतको दाग देखिएको र भित्रबाट ढोकामा चुकुल लगाएको थियो । घटनाबारे कार्यालयले थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्