काठमाडौँ १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालाको आवश्यक निर्माणकार्य उत्कृष्ट ढंगले गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए । उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी निर्माण गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार महिला भलिबल खेलाडीको सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको पनि बताए । केही समयअघि भुटानको पारोसँगको खेलमा रंगशालाको अवस्थाले देशको बेइज्जत भएको उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त–दुरुस्त बनाउन सक्नुपर्ने बताए । आजैदेखि मैदान उत्कृष्ट बनाउन सुरु गर्न उनले निर्देशन दिए ।
उनले खेलाडीका निम्ति भौतिक पूर्वाधारसहितका सेवा सुविधा वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिबद्धता जनाएका छन् । भलिबललाई एउटा कभर्ड हल आवश्यक रहेको खेलाडी स्वयंले बताइसकेको उनले उल्लेख गरे । सरकारले आवश्यक ध्यान दिई त्यसतर्फ काम गरिरहेको उनले बताए ।
उनले हरेक प्रदेश र जिल्ला—जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीलाई अभ्यास गर्न सहज हुने गरी सरकारले काम अघि बढाइरहेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्