काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारी जागिरे मात्र नभई नागरिकका सेवक भएको बताउनुभएको छ ।
नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई सामाजिक सञ्जालबाट शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र भनेको देशको स्थायी सरकार भएकाले सरकारले गर्ने कार्यहरुलाई जनताको जीवनमा देख्न र प्रयोग गर्न सक्ने गरी डेलिभरि गर्नुपर्नेमा जोड दिनुभयो । हरेक कामप्रति जवाफदेहीता हुनुपर्ने उल्लेख गर्दै उहाँले विभिन्न प्रकारका सेवा सुविधामा जनताले पाउनुपरेको सास्तिलाई ध्यान दिन आग्रह समेत गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नेपाल सरकारको मुख्य सचिव नियुक्त हुनु भएकोमा एकनारायण अर्याललाई बधाई। नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनु पर्छ। सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो। हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ-आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ । सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ रु विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ । हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख (निजामती, शिक्षक, सुरक्षा) राष्ट्र सेवक कर्मचारी छन् । कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ। यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु। सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन् । राष्ट्रसेवाका लागि सफलता मिलोस्, शुभकामना !!’
प्रतिक्रिया दिनुहोस्