समाचार

आजको मौसम



काठमाडौँ, १८ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरेको छ । बाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  
कोसी प्रदेशका थोरै तथा वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।