समाचार

पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि



काठमाडौँ, १८ भदौ । शरीरमा पानीको कमी भएकाले एकै परिवारका तीन र एक बालकसहित चारजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा चारजनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको हो ।    

मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो । 

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भने, “हामीले मृतकको उपचार गर्न समय पाएनौँ । मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो ।”

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले उनीहरुको मृत्यु भएको पुष्टि गरेको उनले बताए । यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिए ।