काठमाडौँ, १८ भदौ । । रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ४ स्थित इनरवारी स्वास्थ्य चौकीमा एक नवजात शिशुको आज बिहान मृत्यु भएको हो ।
जन्मिएको करिब २ घण्टामै नवजात शिशुको मृत्यु भएको शिशुका बुबा गौरीशंकर पटेलले बताए । उनी बौधीमाई नगरपालिकाको वडा नम्बर ४ निवासी हुन् । उनका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीमा छोरीको जन्म भएको थियो ।
बर्थिङ सेन्टरमा जन्मिएको केही समयपछि शिशुको मुटुको चालमा समस्या आउँदा थप उपचारका लागि वीरगन्ज रिफर गरिएको थियो । उपचारका लागि वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास अभाव हुँदा शिशुको मृत्यु भएको इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले बताए ।
उनका अनुसार बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरू तनावमा आए । त्यसपश्चात सबैको सल्लाह अनुसार शिशुलाई थप उपचारका लागि वीरगन्ज पठाउने निधो भयो । उनले भने, ‘तर अस्पतालमा एउटा मात्र एम्बुलेन्स उपलब्ध थियो, जसमा हतारहतारमा लानुपर्ने भयो । तर दुर्भाग्य त्यो एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास नै रहेनछ । जस कारण बिच बाटोमा बच्चाको मृत्यु भएको हो ।’
प्रतिक्रिया दिनुहोस्