समाचार

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक



काठमाडौँ, २२ भदौ । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, उजाड भूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ । 

लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहेका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताए । लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्न क्रममा गुरुङले बिहीबार गाडी र मानिसहरु छेउमै भए पनि नाउरहरु चरिरहेको देखेर पर्यटक दङ्ग परेका बताए । 

समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड नजिकैको पाखामा तिब्बती ज्याजल, फ्याउ मुसा, वनखरायो, हिउँ चितुुवा, ब्याँसो, नाउर, रातोभालुलगायत वन्यजन्तु भेटिने पेमाले बताए । दामोदरकुण्डसँगै कोरला नाका, छोसेरको झोङ गुफा, समर, भेनाको पहाड, साङ्ता जाने सडक र पदमार्गको छेउछाउमै वन्यजन्तुु देखिन थालेका छन् । तनहुँका दुुलेगौडाका सुरेश भट्टराईले यात्राकै क्रममा जङ्गली जनावरहरु देख्न पाएकामा दङ्ग परेको बताए ।