काठमाडौँ, ६ असोज । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ ।
अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् ।
उनले वैशाखयता मात्र जिल्लाका १४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरिसकेको बताइ् । “नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा व्यक्ति स्वयं उपस्थित हुनुपर्छ तर कार्यालयसम्म आउन नसक्ने अपाङ्गता भएकाहरूलाई भने जनप्रतिनिधिमार्फत अपाङ्गता पहिचान गरी वडाले नै सबै कागजात बनाइसकेपछि घरमै नागरिकता प्रदान गर्ने गरिएको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन् ।
अपाङ्गता भएको छोरालाई नागरिकता बनाउन सदरमुकाम लिन नसक्दा उमेर पुगेको आठ वर्षपछि टोलीले घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको मेन्छ्यायेम–४ का भवानीप्रसाद लिम्बूले बताए, “बोल्न, सुन्न र हिँड्न नसक्ने २४ वर्षीय छोरालाई बोकेर जिल्ला सदरमुकाम जान सकेका थिएनौँ । हालै प्रमुख जिल्ला अधिकारीसहितको टोली घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्