काठमाडौँ, १४ असोज । काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठुलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ ।
विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरूले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ ।
विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।
काठमाडौँ विमानस्थलको वर्षामापन केन्द्रले दुई सय ३९ दशमलव सात मिलिमिटर वर्षा भएको जनाएको छ । बुढानीलकण्ठमा एक सय ७८ दशमलव तीन मिलिमिटर, जितपुरफेदीमा एक सय ७८ दशमलव तीन मिलिमिटर, नागार्जुनमा दुई सय पाँच दशमलव चार मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।
ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेल वर्षामापन केन्द्रले एक सय ९४ दशमलव पाँच मिलिमिटर वर्षा भएको मापन गरेको छ ।
ललितपुरको गोदावरीमा तीन सय ११ दशमलव छ, खुमलटारमा दुई सय ९४ दशमलव चार मिलिमिटर, टिकाथलीमा दुई सय ६४ मिलिमिटर वर्षा हुँदा खोकनामा दुई सय ९७ दशमलव तीन मिलिमिटर र चापागाउँमा तीन सय २३ दशमलव पाँच मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । औसतमा २४ घण्टामा के कति मात्रामा पानी प¥यो भन्ने आधारमा हिसाब निकालिने गरिएको छ । काठमाडौँ उपत्यकामा मात्रै १७ स्थानमा वर्षामापन केन्द्र छन् । ती केन्द्रले विवरण रेकर्ड गर्छन् ।
असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । एकैपटक आरीबाट घोप्ट्याए जसरी वर्षा हुँदा ठुलो जनधनको क्षति हुन पुगेको हो । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा चार सय १० मिलिमिटर मापन गरिएको छ । यस्तै काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा तीन सय ३१ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्